बङ्गलादेशले प्रजातान्त्रिक सुधारका कार्यक्रम सार्वजनिक गर्ने

DaksuMedia bankbima
|
२०८२ श्रावण १७

बङ्गलादेशको अन्तरिम सरकारले विगतको निरंकुश शासन सत्तालाई अपदस्थ गरेको एक वर्ष पूरा भएको उपलक्ष्यमा अगष्ट ५ तारिखका दिन प्रजातान्त्रिक आमूल परिवर्तनका कामहरूको सूची जारी गर्ने शनिबार जनाएको छ । करिब १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा विद्यार्थी नेतृत्वको विद्रोहले राजनीतिक परिवर्तन ल्याएको हो । सन् २०२४ अगष्ट ५ मा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरी १५ वर्ष लामो शासन अन्त्य गरेपछि नयाँ सरकार गठन भएको हो । नोबेल शान्ति पुरस्कार विजेता ८५ वर्षीय मोहम्मद युनुसले निर्वाचन नहुञ्जेलका लागि कामचलाउ सरकारको प्रमुख सल्लाहकारको रूपमा नेतृत्व गरिरहनुभएको छ । युनुसले यसअघि प्रजातान्त्रिक संस्थाहरूको सुधारका लागि ‘ठूलो प्याकेज’ सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । सन् २०२६ को सुरुमा हुन लागेको चुनावअघि राजनीतिक दलहरूबीच सत्ताका लागि होडबाजी चल्दा सहमतिको प्रयासमा सुस्तता छाएको छ । युनुसको सरकारले राजनीतिक शक्ति सङ्घर्षले प्राप्त उपलब्धिलाई खतरामा पार्ने चेतावनी दिएको छ । जुलाई २९ मा युनुसले आफू समावेशी, सहभागितामूलक र विश्वसनीय निर्वाचन प्रदान गर्ने नयाँ राजनीतिक प्रणालीका लागि व्यापक राष्ट्रिय सहमति निर्माण गर्न लागि परेको बताउनुभएको थियो । युनुसको कार्यालयले शनिबार भनेको छ, “जनविद्रोहमा संलग्न सबै राजनीतिक दलहरूको उपस्थितिमा जुलाईको घोषणा अनुसार राष्ट्रसमक्ष कार्यक्रम प्रस्तुत गरिनेछ।” हसिनाको शासनकालमा उहाँका राजनीतिक विरोधीहरूलाई सामूहिक हिरासत र गैरन्यायिक हत्या गर्ने लगायतका व्यापक मानव अधिकार उल्लङ्घन भएका थिए। उहाँको सरकारमाथि अदालत र निजामती सेवाको राजनीतिकरण गरेको, एकतर्फी निर्वाचन गराएको र आफ्नो शक्तिमाथिको लोकतान्त्रिक नियन्त्रणलाई ध्वस्त पारेको आरोप पनि लागेको थियो । आन्दोलनको चरम उत्कर्षपछि ७७ वर्षीया हसिना भागेर भारत पुग्नुभएको थियो । उहाँलाई उहाँको शासनकालमा भएका भनिएका मानवताविरुद्धको अपराधको अभियोगमा चलिरहेका मुद्दाको सुनुवाइमाका लागि उपस्थित हुन अदालतले आदेश दिएको छ तर उहाँले ती मुद्दा राजनीतिक प्रतिशोधका कारण लगाइएको भन्दै आदेशको अवहेलना गर्नुभएको छ । सन् २०२४ जुलाई १ मा विश्वविद्यालयका विद्यार्थीहरूले सार्वजनिक क्षेत्रको जागिरका लागि कोटा प्रणालीमा सुधारको माग गर्दै सुरू गरेको विरोध प्रदर्शनले अन्ततः उहाँको शासनमाथि नै धावा बोलेको थियो । सन् २०२४ को अगष्ट ५ मा हजारौं प्रदर्शनकारीले हसिनाको दरबारमा प्रवेश गरेपछि उहाँ परिवारका सदस्य तथा निकट सहयोगीसहित हेलिकप्टरमार्फत् भारतमा शरण लिन पुग्नुभएको थियो ।

Visited 10 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्