दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आज गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला

DaksuMedia bankbima
|
२०८२ श्रावण १५

ललितपुर । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आज गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३० हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र २ करोड ९१ लाख ९५ हजार रुपैयाँ बराबरको २ लाख ९१ हजार ९५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले आफ्ना कर्मचारीहरुका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषहरुका लागि १ लाख ४५ हजार ९७५ कित्ता शेयर बाँडफाँट गरिसकेको छ।

अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता शेयर निष्काशन गर्न गरेको हो ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले निर्माण गरिरहेको ९.६ मेगावाटको दरम खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट अनुमानित लागत २४ करोड ७९ लाख रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २८ वर्ष बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.८३ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १७.९० वर्ष रहेको छ।

Visited 4 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्