हिमालयन बैंकको ३२औँ वार्षिक साधारण सभा सम्पन्न

DaksuMedia bankbima
|
२०८१ माघ ३

काठमाडौँ ३ माघ २०८१

हिमालयन बैंक लिमिटेडको बतीसौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।बैंक संचालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले बैंक तथा यसका सहायक कम्पनीहरुसहितको आव २०८०/८१ को एकिकृत वित्तीय विवरण पारित गरेको छ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले शेयरधनीहरुलाई बैंकको दरवारमार्गस्थित आफ्नै जग्गामा भवन निर्माण गरी उक्त शाखालाई स्थानान्तरण गरी सोही आर्थिक वर्षबाट हिटी दरबार शाखाको नामबाट बैंकिङ्ग सेवा संचालनमा ल्याइसकेको जानकारी गराए । संचयकोषको उक्त भवनको प्रवलिकरणपश्चात् ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्नको लागि आवश्यक स्थान पुनः भाडामा लिने प्रक्रियामा रहेको उनले बताए ।

यसका साथै बैंकले नयाँसडकमा पनि बैंकले आफ्नै जग्गामा शाखा कार्यालयको लागि भवन निर्माण कार्य प्रारम्भ गरिसकेको जानकारी गराए ।

यस पश्चात् बैंकका अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८०/०८१ का प्रतिवेदन प्रस्तुत गर्दै वर्तमान संकुचित आर्थिक परिवेशको अवस्थामा पनि र्बैकको खुद मुनाफा रु. एक अर्ब २३ करोड ४३ लाख तीन हजार रहेको र अन्य व्यापक आय गणना गर्दा बैंकको खुद आम्दानी रु. एक अर्ब दुई करोड ३९ लाख एक हजार रहेको बताए । जसमध्ये अनिवार्य जगेडाकोषमा सो वर्षको खुद मुनाफाको २० प्रतिशतले हुन आउने रु. २४ करोड ७६ लाख ६० हजार छुट्याइएको जानकारी दिए ।

यसैगरी बैंकको निक्षेप अघिल्लो वर्षको तुलनामा ६.८९ प्रतिशतले वृद्धि भई रु. दुई खर्ब ९७ अर्ब ७२ करोड ५३ लाख पुगेको, कर्जा सापट १.७९ प्रतिशतले वृद्धि भई रु. दुई खर्ब ४७ अर्ब १० करोड ९० लाख रहेको जानकारी गराए । सो अवधिमा बैंकको कुल सम्पत्ति ६.४२ प्रतिशत र खुद सम्पत्ति ३.१४ प्रतिशतले वृद्धि भएको उनको भनाइ छ ।

Visited 6 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्