सुपर मादीको आईपीओ खुल्यो

DaksuMedia bankbima
|
२०७९ माघ ९

काठमाण्डौ ९ माघ २०७९ -सुपर मादी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीमा आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न लागेको हो । 

कम्पनीले जारी पूँजी २ अर्ब १० करोड रूपैयाँको १० प्रतिशत अर्थात् २१ करोड रूपैयाँ बराबरको २१ लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता शेयरमध्ये २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूमा र १ लाख ५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ ।

यी बाहेक बाँकी रहेको शेयरमध्ये ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याएर १७ लाख ४३ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । यो आईपीओ विक्री अवधि छिटोमा माघ १२ गतेसम्मका लागि तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि माघ २३ गतेसम्म विक्री अवधि लम्बिने जानकारी कम्पनीले दिएको छ । 

यो आईपीओ खरीदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।  

Visited 2 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्