काठमाण्डौ ४ मंसिर,२०७९ । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको प्रणालीमा प्रविष्ट भएको विवरण अनुसार ६१ प्रतिशत मतदान भएको बताएका हुन् ।
सबै विवरण प्रविष्ट हुँदा केही प्रतिशत थप हुन सक्ने आशा गरेको उनले बताए । आयोगले अनुमान गरेको भन्दा थोरै मात्र मतदान भएको प्रमुख आयुक्त थपलियाले जानकारी दिए ।
सुर्खेत, नवलपरासी पूर्व, गुल्मी र बाजुरा जिल्लाका १५ स्थानमा भने मतदान स्थगित भएको उनले बताए । स्थगन भएका मतदान केन्द्रमा आवश्यक तयारी गरी दुई दिनभित्र पुनः मतदान गराउने निर्णय गर्न उपयुक्त प्रबन्ध मिलाइने जानकारी दिए। मतदानका क्रममा बाजुरा जिल्लामा दोहोरो झडप हुँदा एक जना सर्वसाधारण नागरिकको मृत्यु भएको पनि प्रमुख आयुक्त थपलियाले बताए ।
मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज साँझदेखि नै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको भइरहेको छ । मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि दलीय सहमति जुटाई काठमाडौँ उपत्यकालगायतका क्षेत्रमा आज रातिदेखि नै मतगणना शुरू गर्ने र अन्य स्थानमा मतपेटिका सुरक्षित साथ संकलन भएपछि तत्काल मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको छ ।
जिल्ला सुरक्षा समितिको सिफारिस बमोजिम ७ वटा हिमाली जिल्लाका अति विकट मतदान केन्द्रका मतपेटिकाहरू नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी मौसमले साथ दिएमा भोलि अपरान्ह ४ बजे भित्र सदरमुकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म ढुवानी गर्ने योजना भएको बताए ।


bankbima








तपाईको प्रतिक्रिया दिनुहोस्