bankbima

काठमाडौं २१ चैत्र २०७८।
बीमा कम्पनीमा एकजना व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष बन्न नपाउने भएको छ । बीमाक्षेत्रको नियामक निकाय बीमा समितिले आइतवार संस्थागत सुशासनसम्बन्धी निर्देशिका संशोधन गर्दै अध्यक्षको कार्यकाल सीमा तोकेको हो ।
नेपालमा बीमा कम्पनीका अध्यक्षको कार्यकालमा सीमा तोकिएको यो पहिलोपटक हो । हालसम्म एकै व्यक्ति जतिपटक पनि बीमा कम्पनीमा अध्यक्ष हुन सक्थ्यो ।
नयाँ व्यवस्थाअनुसार अध्यक्षको एक कार्यकाल ४ वर्षको हुनेछ । एउटा व्यक्ति बढीमा दुईपटकसम्म मात्र अध्यक्ष बन्न पाउनेछ । यो व्यवस्था सञ्चालक समिति सदस्यको हकमा पनि लागू हुने समितिले बताएको छ ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीका अध्यक्षको कार्यकाल तोकिएको जानकारी दिएका हुन् । ‘यसअघि बीमा कम्पनी अध्यक्षको कार्यकालबारे कुनै व्यवस्था थिएन । त्यसअनुसार एकै व्यक्ति जति समयरपटक पनि अध्यक्ष हुन सक्थे,’ उनले भने, ‘तर, एउटै व्यक्ति लामो समय अध्यक्ष हुँदा अनेक समस्या देखिए । त्यसपछि हामीले निर्देशिका संशोधन गरेर कार्यकालको सीमा तोकेका हौं ।’
दुईभन्दा बढीपटक अध्यक्ष भइसकेको व्यक्ति अहिले पदमा छ भने उसले छाड्नुपर्ने कार्यकारी निर्देशक पौडेलको भनाइ छ ।
यस्तै, बीमा अभिकर्तालाई कर्जा दिन नीतिगत रूपमै रोक लगाएको छ । जीवन बीमा कम्पनीहरूले अभिकर्तालाई प्रोत्साहन गर्न कर्जा सुविधा दिँदै आएका थिए । त्यसमा समितिले केही समयअघि रोक लगाउने निर्णय गरेको थियो । अहिले आएर त्यसलाई नीतिगत रूपमा स्थापित गरिएको हो ।आर्थिक अभियान दैनिकबाट
फेसबुकबाट तपाईको प्रतिक्रिया