काभ्रे ०१ फागुन २०७८। ऐतिहासिक, धार्मिक, साँस्कृतिक, पर्यटकीय तथा पुरातात्विक महत्त्वको १२ वर्षे मकर मेलामा ५० लाखले स्नान तथा अवलोकन गरेका छन् । मकर सङ्क्रन्तिबाट सुरु भएको मेलाको मकर–स्नान तथा अवलोकन शनिबारसम्म एक महिना चलेको थियो ।मेला समापनका दिन शनिबार राजधानी काठमाडौंको पूर्वतर्फ अर्थात् अरनिको राजमार्ग तथा बनेपा-पनौती सडकमा ‘ट्राफिक’ व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे नै परेको थियो । बिहानैदेखि सडक जाम हुँदा बनेपादेखि पनौतीसम्मको छ किलोमिटर सडकमा सवारी निषेधसमेत गरिएको थियो ।
काठमाडौंबाट पनौतीसँग जोडिएका अन्य वैकल्पिक सडकसमेत दिनभरजसो जाम नै थिए । मेला सुरुवातको हप्ता कोरोना सङ्क्रमणको जोखिमका कारण मकर–स्नान मात्र गर्न दिइएको थियो । त्यसयता कोरोना सङ्क्रमण मत्थर हुँदै जाँदा पनौती नगरपालिका-६ र ७ को सङ्गमस्थल त्रिवेणीघाटमा भक्तजनको भीड लाग्दै गएको थियो ।शनिबारसम्म करिब ५० लाख भक्तजनले मकर–स्नान तथा अवलोकन गरेको मकर मेला मूल व्यवस्थापन समितिले जनाएको छ । समितिका सचिवालय संयोजक ईन्द्रप्रसाद अधिकारीले एक महिनाको अवधिमा ५० लाख दर्शनार्थीले मेला अवधिभर पनौतीको अवलोकन, मठ–मन्दिरको दर्शन तथा स्नान गरेको जानकारी दिए ।‘कोभिडका कारण सुरुका दिन सुनसानजस्तै थियो, करिब १० दिनपछि दर्शनार्थीको घुइँचो लाग्दै गयो’, अधिकारीले भने । उनका अनुसार बिदाका दिन करिब दुई लाखसम्मले मेला अवलोकन गरेका थिए । त्रिवेणीघाटमा नुहाइ त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरीमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने धार्मिक आस्था रहँदै आएको छ ।
राजा प्रताप मल्लले विसं १७२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन् । तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्त रुपमा बहिरहेको मान्यता छ ।भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरुपले सरस्वती मिसन नदी बगेझैं पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुयणमाता नदीलाई लीलावती र गुप्तरुपले बहेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दूध बग्ने नदी पद्यमावती मानिँदै आएको छ ।
इन्देश्वर महादेवलगायत मन्दिरका कारण पनौती महत्त्वपूर्ण तीर्थस्थलका रुपमा मानिँदै आइएको छ । मेलामा काभ्रेपलाञ्चोकका अलावा राजधानीलगायत देशैभरबाट सहभागिता भएको नगरपालिकाले जनाएको छ । मेलामा नेपालका मात्र नभइ उत्तर भारत प्रयागबाट समेत तीर्थालु आएको नगरप्रमुख भीम न्यौपानले बताए ।हरेक १२ वर्षमा महिनाभर लाग्ने ‘मकर मेला’ सभ्य र भव्यरुपमा सञ्चालन गर्ने तयारीस्वरुप भौतिक पूर्वाधारका कामसमेत गरिएको थियो भने सँगसँगै मेला प्रवर्द्धनका कार्यक्रमसमेत भएका थिए । मेलालाई थप व्यवस्थित बनाउन नगरपालिकासँग जोडिएका सडक पूर्णरुपले सञ्चालनमा ल्याउन निर्माण एवं स्तरोन्नति गरिएका थिए ।
पनौतीका सबै प्रकारका विद्यालय एक महिनाका लागि बन्द गरिएको थियो । मेला अवधभिर मल्पी ड्यामबाट नियमित रुपले रोशी खोला तथा मल्पी–लीलावती बाँसडोल खोलामा स्वच्छ पानी बगाइएको थियो । यसका लागि खानी तथा खानीजन्य उत्खनन तथा पैठारी बन्द गरिएको थियो ।मेला सम्पन्न गर्न गठित एक दर्जनभन्दा बढी उपभोक्ता समितिले त्रिवेणीघाट मात्र नभइ सिङ्गो पनौतीलाई ‘दुलही’झैँ सिँगारेका थिए । पनौतीभित्रका मठ-मन्दिर तथा पाटीमा रङरोगन तथा तोरणले झिलिमिली बनाइएको थियो । साथै पनौती प्रवेश गर्ने मुख्य नाकामा स्वागतद्वारसमेत निर्माण गरिएका थिए ।
मेलालाई थप व्यवस्थित गर्न श्रद्धालुलाई स्नानका लागि त्रिवेणीघाट वरिपरी बेलिब्रिज र मानेश्वरी बसपार्कदेखि त्रिवेणीघाटसम्म पुण्यमाता खोलाको दायाँबायाँ पैदलमार्ग, विश्रामस्थललगायत भौतिक संरचना निर्माण गरिएको थियो । नगरपालिकाले ढुङ्गेधारा मर्मत, थप धाराको व्यवस्था, फुटपाट मर्मत, ऐतिहासिक पाटीका जस्तापाता निकालेर झिँगटीले छाउने र रथको आवश्यक मर्मत गरेको थियो ।पनौतीबाट चल्ने सबै प्रकारका सवारीसाधनमा ‘भिजिट मकर मेला-२०७८, पनौती’लेखिएका स्टिकर तथा फ्लेक्स टाँगिएका थिए । नगरपालिकाको योजनाअनुसार त्रिवेणीघाटस्थित क्षेत्रमा रोशी खोलातर्फ सिँढी तथा रोशी खोलामा चार ड्याम तथा सोही क्षेत्रमा शौचालय मर्मत–सुधार, मानेश्वरी बसपार्क क्षेत्रमा शौचालय निर्माण तथा आवश्यकीय क्षेत्रमा अस्थायी शौचालय बनाइएको थियो । RSS


bankbima











तपाईको प्रतिक्रिया दिनुहोस्